कालो सिसाभित्र र बाहिरमा धेरै फरक छ ।
सिसाभित्र हुनेलाई सिसा बाहिरको बारेमा थाहा हुन छोड्छ । पहिला दरबारको सिसाभित्र हुनेलाई बाहिरको बारेमा थाहा नभएजस्तै ।
बिस्तारै दरबारको सिसा त फुट्यो तर त्यसपछि सिसाभित्र पसेकाहरूलाई पनि दरबारको लत लाग्यो ।
उनीहरू कालो सिसाभित्रबाट सडकका खाल्डा देख्न छोडे । सडकको जाम देख्न छोडे । अनि उनीहरूको नजरको चस्मा लगाउनेहरू उनीहरूले देखेको देख्न छोडे ।
सिसाभित्रको उनीहरूको समय कयौं अगाडि पुग्यो। सिसा बाहिरको छोडियो ।
यसपल्टको ओस्कारमा उत्कृष्ट फिल्महरूको मनोनयनमा परेको फिल्म ‘द ट्रायल अफ सिकागो सेभेन’ ले यही सिसाभित्र र बाहिरको अन्तरबारेमा कुरा गर्छ ।
फिल्ममा एउटा स्ट्याण्डअप कमेडियन पात्र छ । ऊ आफूहरूलाई र्यालीबाट प्रहरीले पक्राउ गरेको दिनबारेमा वर्णन गर्दै आफ्ना दर्शकहरूलाई भन्छ ‘बारभित्र ६० को दशकमा भएको घटना घटेको थिएन । बार बाहिर ६० को दशकमा भएको घटना प्रत्यक्ष घटिरहेको थियो । तर कसैले पनि झ्यालबाट बाहिर हेरेनन् ।’
त्यो बार सिकागो शहरमा थियो । उनीहरूले भियतनाममा अमेरिकाले लडिरहेको युद्ध रोक्नुपर्ने माग राखेर र्याली गर्दै गर्दा त्यो बारमा पार्टी चलिरहेको थियो । अमेरिकी सेनाहरू मरिरहेका थिए । त्यो बारमा पार्टी चलिरहेको थियो ।
बारको कालो सिसातिर उनीहरू उभिएका थिए । उनीहरूलाई प्रहरीले बाँकी तीन तिरबाट घेरेका थिए । त्यसो हुनुभन्दा पहिला शान्तिपूर्ण आन्दोलन गरिरहेका उनीहरूलाई प्रहरीले दमन गरेर तितरबितर पारिसकेको थियो । उनीहरूलाई प्रदर्शन गर्ने ठाउँ दिइएको थिएन ।
यो सबै कुरा बारभित्र हुनेलाई थाहा थिएन । कालो सिसा बाहिरबाट भित्र बलिरहेको उज्यालो देखिन्थ्यो तर भित्रबाट बाहिर अँध्यारो थियो । त्यसैले त बारबाट बाहिर कसैले हेरेन ।
प्रहरीले उनीहरूलाई आक्रमण गरेपछि फुटेको सिसाको आवाजपछि मात्र बार झस्कियो ।
बारको सिसा अर्थात् समाजको चेतनामा भएको अन्तरको बिम्ब । सिसाको भित्र र बाहिर पर्नेको अन्तरको बिम्ब ।
स्ट्याण्डअप कमेडियन पात्र फेरि दोहोर्याउँछ, ‘६० को दशक बारभित्र थियो ५० को दशक बारबाहिर ।’
अर्थात् !
कालो सिसाभित्र अर्कै युग चलिरहेको थियो, बाहिर अर्कै ।
*****
अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति नभएका भए यो फिल्म सायद यति बेला बन्दैन थियो ।
बायोपिक हलिउडका लागि नौलो हैन । सत्य घटनामा आधारित हजारौं फिल्महरू त्यहाँ बनेका छन् । भियतनाम युद्धकै बारेमा धेरै फिल्म छन् । अमेरिकामा भएका ठूला तथा साना घटनाहरू झन् कसरी छुट्थे । तर सिकागो शहरमा भएको यो आन्दोलनको र त्यसमा प्रहरीले गरेको दमनको कथा छुटेको रहेछ । यसलाई ट्रम्पले याद दिलाइदिए ।
यो फिल्मले लोकतन्त्रबारेमा कुरा गर्छ ।
डोनाल्ड ट्रम्पले धेरैपल्ट लोकतन्त्रको मूल मर्मलाई कुल्चिए । उनले लोकतन्त्रमा वर्णको विष घोलिदिए । ट्वीटरमा घृणाको साँप छोडिदिए ।
फिल्ममा स्ट्याण्डअप कमेडियनले बोलेको अर्को डायलगले भन्छ ‘हाम्रो लोकतन्त्रमा धेरै उत्कृष्ट संस्थाहरू छन् तर दुर्भाग्य ती संस्थाहरूमा गलत मान्छे बसेका छन् ।’ डोनाल्ड ट्रम्प र उनको प्रशासनले यसलाई पुनः एकपल्ट सम्झाइदिए ।
र, उनी जस्तै अरू अनुहारहरू विश्वका अरू देशमा पनि देखिन थाले। चुनावबाट निरंकुश बन्न चाहने व्यक्ति छानिन थाले । भारतले मोदी दोहोर्यायो । नेपालले ओलीलाई बोलायो ।
यो फिल्म बनाउने विचार त्यतै कतैबाट जन्मियो होला । यो फिल्मबारेमा लेख्ने विचार भने त्यतैबाट जन्मियो ।
अमेरिकाले त्यसबेला भियतनाममा युद्ध हारिरहेको थियो । दिनदिनै चढ्दो संख्यामा सेनाहरू मरिरहेका थिए । युद्ध रोक्नुपर्ने माग बढिरहेको थियो । तर राजनीतिक अडान र युद्ध हार्दा अमेरिकालाई हुने लाजले गर्दा युद्ध रोकिएन ।
देशको लाजको बदला देशका युवाको लास । युद्ध रोकिएन ।
सिकागो वरपर भएका युवाहरूले युद्ध रोक्ने माग राखेर र्याली गर्ने निर्णय गरे । ७ युवा संस्थाहरूले सिकागोमा हुन गइरहेको प्रजातान्त्रिकहरूको नयाँ राष्ट्रपतिको उम्मेदवार छान्ने कार्यक्रमलाई लक्षित गरी र्याली गर्ने र अब आउने नयाँ उम्मेदवारलाई यो कुरा सुनाउने । सामूहिक नागरिक आन्दोलन आह्वान भयो । हजारौंको संख्यामा युवाहरू सडकमा निस्किए ।
तर उनीहरूलाई प्रदर्शन गर्ने ठाउँ दिइएन । उल्टै उनीहरूको आन्दोलनलाई राजनीतिकरण गरेर प्रहरीबाट दमन गरियो र सातै वटा संस्थाका प्रमुख युवाहरूलाई पक्राउ गरेर अदालत पुर्याइयो ।
अनि ५ महिना लामो बयानमा सहभागी गराइयो।
अनि त्यसको ६० वर्षपछि यो फिल्म बन्यो ।
*******
कुनै देशको समाजको वास्तविक अनुहार हेर्नुपर्यो भने त्यो देशको अदालतलाई हेर्नुपर्छ । यो फिल्मले अदालतलाई सेटिङ बनाएको छ ।
कोर्ट रुम ड्रामामार्फत फिल्मले त्यो समयको कथा मात्र भनेन, त्यो समयमा अमेरिकामा भएका संस्थाहरूमा बस्ने मानिसहरूको नियतलाई पनि खोलिदिन्छ । त्यसका विभिन्न तहहरूलाई खोतल्छ ।
सातै जनालाई प्रहरीसँग झडप गर्न उक्साएको भनेर पक्राउ गरिएको भए पनि त्यसमध्ये एक जना काला जातिका युवालाई भने हतकडी लगाइन्छ । उसको वर्ण कालो भएकै कारण र काला जातिका युवालाई प्रतिनिधित्व गर्ने ‘ब्ल्याक प्यान्थर’ संस्था चलाएकै कारण उसलाई अरूभन्दा फरक व्यवहार गरिन्छ । उसको वकिल छैन ।
ऊ पटक-पटक आफ्नो वकिल नभएको कुरा र आफू र्यालीमा धेरैबेर नरहेको कुरा सुनाइरहन्छ तर न्यायाधीश उसलाई रोकिरहन्छन् । बोल्ने रोक्ने चलिरहन्छ ।
केहीबेर दोहोरिएपछि उक्त दृश्यले काला जातिले पटक-पटक बोलेर अधिकार माग्दा पनि उनीहरूलाई कसरी चुप लगाइयो भन्ने कुरा बताइदिन थाल्छ । बयानको दिन बढ्दै जाँदा न्यायाधीशले गर्ने व्यवहारले कसरी अब्राहम लिङ्कनको घोषणा फेल भयो भन्ने कुरा बुझ्दै जान थालिन्छ ।
त्यसैले त स्ट्याण्डअप कमेडियन पात्र भन्छ ‘यदि हामीले गरेको सबै कुरा यति बेला अब्राहम लिङ्कनले गर्थे भने उनी पनि यतिबेला जेलमा हुन्थे ।’
फिल्मको चरित्र निर्माण एकदमै शक्तिशाली छ । सात जनाकै चरित्र स्पष्ट भएर आउँछ । उनीहरू दर्शकलाई भिन्न अवस्थामा फरक-फरक प्रतिक्रिया दिएर सर्प्राइज गरिरहन्छन् । आफ्नो क्यारेक्टर सेडलाई बढाइरहन्छन् ।
र्यालीमा जानुभन्दा पहिला आफ्नो परिवारलाई प्रहरीहरू आएमा आफू सरेन्डर गर्छु भनेर गएको बाबु अदालतमै श्रीमती र छोराको सामुन्ने प्रहरीलाई मुक्का हान्छ । तर, उसले मुक्का हानेको सिनले दृश्यको गहनतालाई झन् बढाइदिन्छ । उसको कानुनी प्रक्रियाप्रतिको फ्रस्ट्रेसनसँग दर्शकलाई झनै नजिकैबाट बुझाइदिन्छ। किनकि ऊ मुक्का हान्ने कुरामा विश्वास गर्ने मान्छे थिएन ।
त्यस्तै अर्को एक चरित्र छ जो कोर्ट रुममा जानुभन्दा पहिला कपाल काटेर आएको थियो । ऊ सुरुबाट नै अदालतको प्रक्रियामा विश्वास गर्छ । ऊ राजनीतिमा जान चाहन्छ । चुनाव जित्न चाहन्छ ।
फिल्मको एक दृश्यमा कालो जातिको युवाले असह्य भएपछि आफ्नोबारेमा कराएर बोल्न थाल्छ । अदालतका परिचारकहरू उसलाई समातेर भित्र लैजान्छन् । र, कुट्न थाल्छन् । उसलाई कुट्न थालेको आवाज अदालतमा सुनिन्छ ।
उसलाई भित्र लग्नासाथ एक पात्रले कपिको पन्ना च्यात्छ र न्यायाधीशले ‘सबै जना उठ्ने’ भनेको बेला उसको कदमको विरोध गरेर नउठ्ने सल्लाह गर्छ ।
बोल्न नदिने गरी मुखमा बुझो हालेर र हात पछाडि बाँधेर ह्विलचेयरमा कालो जातिको युवकलाई ल्याइन्छ । केही अगाडिसम्म एकदमै शक्तिशाली र रिसमा देखिएको ऊ पुरै गलेको र मायालाग्दो देखिन्छ । ऊ मायालाग्दो अनुहारले जुरी तिर हेर्छ ।
त्यसपछि न्यायाधीशले ‘सबै जना उठ्ने’ भनेको बेला बाँकी ५ जना उठ्दैनन्, तर कपाल काटेर आएको चरित्र उठ्छ ।
ऊ उठेको घटनाको प्रभाव कतिसम्म थियो र त्यो ट्रायल कतिले हेरेका थिए भन्ने कुरा फिल्मले एउटा सानो दृश्यमा देखाइदिन्छ । त्यो घटनापछि उनीहरू रिटायर भइसकेका पूर्वप्रशासकलाई आफ्नो पक्षमा बयान दिनलाई अनुरोध गर्छ जान्छन् । त्यहाँ काम गर्ने एक जना काला जातिकी महिला हुन्छिन् । उनी उक्त युवकलाई रोक्छिन् र भन्छिन्, ‘त्यो दिन सबै जना नउठेको बेला उठ्ने तिमी हौं ?’
******
फिल्ममा यस्ता धेरै सांकेतिक दृश्यहरू छन् ।
न्यायाधीशले एक दुई पल्ट बयान सुनिसकेपछि स्ट्याण्डअप कमेडियन पात्र र उसको साथी मिलेर उसले बोल्ने बोली नक्कल गर्न थाल्छन् । कुनै बयान सुनिसकेपछि न्यायाधीशले के भन्छ भन्ने कुरा उनीहरू अनुमान गर्न थाल्छन् र न्यायाधीशले भन्नु अगाडि नै उसले बोल्ने कुरा दोहोर्याइदिन थाल्छन् ।
एउटा दृश्यमा त झन् उनीहरू पनि न्यायाधीशले लगाउने जस्तो लुगामै अदालतमा बसिरहेका हुन्छन् । न्यायाधीशले लुगा खोल्न लगाउँछ । उनीहरू बाहिरको कालो कपडा खोल्दा त्यसभित्र सिकागो प्रहरीको लुगा लगाएर बसेका हुन्छन् ।
प्रहरी र न्यायाधीश सबै सत्ताको पक्षमा मिलेका छन् भन्ने कुरा फिल्मको चरित्रले न्यायाधीशलाई र हामी दर्शकलाई एकैपल्ट बताउँछ ।
संवादमा धेरै सबटेक्स्टहरू प्रयोग भएका छन् ।
वकिलले बेलाबेला ‘किप रिडिङ जेम्स वाल्डविन’ अर्थात् जेम्स वाल्विनलाई पढ भनिरहन्छ। जेम्स बाल्डविन काला जातिका महान लेखक थिए । वकिल शायद वाल्डविनलाई अझै पनि केही बदलिएको छैन भन्न चाहन्छन् ।
अदालतमा भइरहेको कुरालाई हेरेर कुरा गरिरहेका दुई युवाहरूमा एउटा युवाले सोध्छ ‘यो के भइरहेको छ मलाई थाहा छैन।’
अर्को युवक जवाफमा भन्छ ‘मलाई यो देशमा के भइरहेको छ थाहा नभएको वर्षौं भइरहेको छ।’
उसले भनेको ‘वर्षौं’ देशले सामान्य नागरिकलाई पनि थाहा भइसकेको कुरामा लिन खोजेको गलत बाटोको बारेमा हो । त्यहाँ भइरहेका संस्थाहरूले गर्ने कार्यसम्पादनको बारेमा हो ।
नेपालमा पनि हाम्रो न्यायालयमा पनि के भइरहेको छ थाहा नभएको वर्षौं भइरहेको छ ।
भारतको न्याय प्रणाली कस्तो छ भन्ने उदाहरण त ४० वर्ष एक निर्दोष नेपालीलाई जेल हालेको देखेर नै थाहा भइसक्यो ।
बाटो बनिरहेको हेर्यो भने के भइरहेको छ जस्तो लाग्छ । संसद् हेर्यो भने त्यस्तै लाग्छ । पत्रकार महासंघको चुनाव हेर्दा त्यस्तै लाग्छ । मन्त्रिपरिषद् हेर्यो भने त्यस्तै लाग्छ । भाषण सुन्यो भने त्यस्तै लाग्छ ।
के भइरहेको छ भन्ने थाहा हुन त कुनै चिज निश्चित प्रणालीमा सञ्चालन भएको हुनुपर्छ । त्यो चिजको कुनै प्याटर्न देखिएको हुनुपर्छ । त्यो चिज अनुमानयोग्य हुनुपर्छ । अझ लोकतन्त्रमा पनि यो झनै हुनुपर्छ । तर यस्तो न अमेरिकामा भइरहेको छ । न भारतमा भइरहेको छ न नेपालमा भइरहेको छ ।
मलाई पनि यो देशमा के भइरहेको छ भन्ने थाहा छैन ।
मैले यो फिल्म हेर्दै गर्दा बानेश्वरमा उखु किसानहरूको आन्दोलन चलिरहेको थियो । उखु किसानहरूलाई पनि यो के भइरहेको थाहा छैन होला ।
यो देशमा के भइरहेको छ भन्ने कुरा थाहा पाउने को होला ?
******
लोकतन्त्र सबैको अनुहार मिलेर बनेको ठूलो अनुहारजस्तै हो ।
सबै जना खुसी भए यसको अनुहार उज्यालिन्छ । सबै जनामध्ये कोही एक जना दु:खी भए यसको अनुहार धमिलिन्छ ।
यसैको प्रक्रियामा सामेल भएर सत्तामा पुग्नेहरूले यही कुरा बुझ्दैनन् । उनीहरू लोकतन्त्रको अनुहार आफू र आफ्नो सरकार मात्र हो भन्ने ठान्छन् । आफू र आफ्नो विचार मात्र हो भन्ने ठान्छन् ।
उनीहरू भुल्छन्:
लोकतन्त्रको नाक हुन्छ जसले धेरै बास्नाहरूको मिश्रण मन पराउँछ । त्यसमा कुनै एक दुर्गन्धले बाँकी बास्नाहरूलाई शासन गर्न खोज्यो भने बाँकी बास्नाहरूले आन्दोलन गर्छन् ।
लोकतन्त्रको कान हुन्छ जसले धेरै आवाजहरू सुन्छ । त्यसरी सुन्ने चिजमा एउटा मात्र भजन बजिरहेको आवाज सुनिन थाल्यो भने त्यसको साटो सबै सुन्दर आवाजहरू भएको प्ले लिस्ट सुन्न चाहनेहरूले आन्दोलन गर्छन् ।
लोकतन्त्रको आँखा हुन्छ जसले धेरै मानिसहरू देख्छ । त्यसरी देख्ने मानिसहरूमा कसैले एउटा मान्छेको मात्र पोस्टर देखाइन थाल्यो भने आँखाहरूले सबै पोस्टर च्यात्न आन्दोलन गर्छन् ।
नाक, कान र आँखा भएका उनीहरू आफ्नोबाहेक अरूको पनि त्यही हुन्छ भन्ने बिर्सिन्छन् । आन्दोलन गर्नेहरू उनीहरूलाई त्यही कुरा सुनाउन आन्दोलन गर्छन् ।
त्यसैले त स्ट्याण्डअप कमेडियन आफूलाई सोधिएको जन्ममिति बताउने प्रश्नबारेमा वकिललाई जवाफ दिँदै भन्छ, ‘मानसिक रूपमा १९६० को दशक ।’
यो उसको चेतनाको उमेर हो । यो उमेरमा आएर उसले आफू अमेरिकाको नागरिक हुनुको वास्तविक अवस्था थाहा पायो । बयान राजनैतिक पनि हुन्छ भनेर थाहा पायो । प्रहरीले जानीजानी आन्दोलनकारीलाई उक्साएर लाठी बजारेको र टियर ग्याँस हानेको थाहा पायो ।
उसले आफ्नो नागरिकको रक्षाका लागि सरकारसँग लड्नुपरेपछि आफ्नो उमेर थाहा पायो ।
अनि सँगै जब उसको साथीले भनेको एउटा वाक्यलाई बङ्ग्याएर उसले आन्दोलनलाई हिंसात्मक पारेको विषयमा उसलाई सोधिन्छ ऊ भन्छ ‘मेरो साथीले युद्ध रोकौं भनेर हजारौं पल्ट भन्यो होला । तर त्यो कुरा कसैले पनि सुनेन ।’
उसले अमेरिका आफूले सुन्न चाहेको कुरा जसरी पनि सुन्छ भनेर थाहा पायो।
*******
यो फिल्मको अन्तिमको दृश्य एकदमै शक्तिशाली छ ।
अभियुक्तहरूलाई फैसला हुनुभन्दा पहिला आफ्नो पक्षबाट अन्तिमपल्ट बोल्ने जिम्मा दिइएको छ । उनीहरूले कपाल काटेर आएको पात्रलाई बोल्ने जिम्मा दिएका छन् । न्यायाधीश उसलाई समय दिँदै भन्छ ‘यो बयानको क्रममा यति दिनसम्म तिमी एक जना चरित्र हौं जसले अदालतप्रति सम्मान देखाएका छौँ । यदि तिमीले आफ्नो बयान गैर-राजनैतिक र छोटो बनायौं भने म सजायमा हेरफेर गर्छु । बुझ्यौं ?’
ऊ मुन्टो हल्लाउँछ । न्यायाधीशले भनेको कुरा दोहोर्याउँछ । अनि सोध्दै भन्छ, ‘तेस्रो कुरा के पो थियो श्रीमान्?’
‘छोटो’ न्यायाधीश भन्छ ।
ऊ बुझेँ भन्दै मुन्टो हल्लाउँछ र आफ्नो नजिकै भएको साथीले बयान सुरु भएको दिनदेखि त्यो पलसम्म भियतनामको युद्धमा मरेका ४९५२ जना सैनिकको नाम पढ्न थाल्छ ।
न्यायाधीश अर्डर अर्डर भनेर हथौडा ठोकिरहन्छ । उसको अर्डर अर्डरलाई कोर्ट रुममा मान्छे उठेर बजाएको तालीले जित्दै जान्छ ।