भोएज् लोमान्थाङ

थानकोट कटेर राजमार्गमा पुगेका मात्र छौं।

‘दुर्घटना सम्भावित क्षेत्र’ लेखिएका बोर्डले स्वागत गर्छन्। पोखरा पुगुन्जेल त्यस्ता बोर्डहरू आइरहन्छन्।

‘यो कस्तो स्वागत हो?’

पछिल्लो समय राजमार्गमा दुर्घटना बढ्दो छ। सँगै बढ्दै छन् यस्ता बोर्डहरू।

किन राखियो? ड्राइभरलाई सचेत गराउन कि डर देखाउन? कि डर देखाएर सचेत गराउन?

कसरी काम गर्दा हुन् ती बोर्डले? राखेपछि ती ठाउँमा दुर्घटना कम हुँदा हुन् कि नहुँदा हुन्?

कसले गाड्छ तिनलाई बाटोमा? बोर्ड राख्ने मान्छे के चढेर आउँदो हो र के चढेर फर्किँदो हो?

धेरैपल्ट दुर्घटना भइरहेपछि ‘दुर्घटना सम्भावित क्षेत्र’ बन्ला कुनै ठाउँ। कुनै ठाउँबाट त्यस्ता बोर्ड हट्लान् कि नहट्लान्?

दिनदिनै घटिरहेको सडकको गुणस्तरले एक दिन पूरै राजमार्ग नै ‘दुर्घटना सम्भावित क्षेत्र’ बोर्डले भरिदियो भने?

मुस्ताङ घुम्न हिँडेको मन यस्ता प्रश्नमा रुमलिन्छ।

पुष्प, जीवन, मुकुन्द दाइ र म। राजमार्गभरी यस्ता धेरै ‘दुर्घटना सम्भावित क्षेत्र’ छल्दै हामी साँझमा पोखरा पुग्यौं।

मुग्लिङमा हामी – पछाडि मार्फा लेखेको देख्नुभयो होला। मार्फा अर्थात मुस्ताङ। हामीलाई बाटोका बोर्डले समेत पुग्न हतार लाउँछन्।

भोलिपल्ट बिहानै।

गुड्न थालेको केहीछिनमै पन्जाबाट चिसो हातमा सर्‍यो। हेम्जा माथिको क्षितिज उज्यालो खोज्न निस्कियो।

त्यही उज्यालोको पछिपछि दाइनेतिर देखियो माछापुच्छ्रे। उसले भन्न खोजे झैं लाग्थ्यो- ‘यात्राको शुभकामना दोस्त। कुस्मासम्म म हेरिदिउँला। बाटो अप्ठ्यारो छ, बिस्तारै जानू।’

आँखा घरि बाटोमा र घरि माछापुच्छ्रेमा। रोकिन समय छैन। गएँ भन्न मन छैन। छुट्ने बेलाको मौन संवाद।

हतार भएको मान्छेले धेरै कुरा भन्न पाउँदैन।
हामीलाई जोमसोम पुग्नु छ। अझै माथि लोमान्थाङ पुग्नुछ। पुग्ने ठाउँले हिँड्नेलाई तान्छ।

हाम्रो जीवनलाई के ले तानिरहेको होला?

लुम्ले झर्ने ओरालो लाग्ने बेला हिमाल हेर्न डाँडामा उक्लियौं। पोखरा घामलाई माछापुच्छ्रेमा बिसाउँछ। माछापुच्छ्रे लजाएको गाला झैं रातो हुन्छ।

यही दृश्य पोखराबाट हेरेको भए के हुन्थ्यो? हुनसक्छ घाम अर्कै डाँडाले बोकेर अन्तै लैजान्थ्यो। माछापुच्छ्रे त्यसलाई हेरेर ईर्ष्या गर्थ्यो। ईर्ष्याको रङ्ग गालामा कसरी सर्थ्यो?

आँखा अघाएर ओर्लिन्छौं।

लुम्ले कट्छ। कुस्मा कट्छ। अब माछापुच्छ्रेले हेरिदिन छोडेको छ।

सानोमा राती उठेर चर्पी जान डर लाग्थ्यो। बुबा भन्नुहुन्थ्यो ‘तँ जा म हेरिदिन्छु।’

हेरिदिएको कत्रो भर हुन्थ्यो। डर भाग्थ्यो।

हेरिदिने ती आँखा अहिले टाढा छन्। फोनले बोलीसम्म सुनाउँछ।

कुस्मा कट्ने बेला प्रहरी कार्यालय नजिकै खाजा खान रोकिन्छौं। केही प्रहरी पनि खाँदैछन्। तीसँग पसले दिदीको बोली अधिक नम्र छ। डराएजस्तो। ती रोटी खान्छन्। खाइसकेपछि हातमा लागेको चिल्लो पखाल्न पानी माग्छन्। खन्याउन अर्डर दिन्छन्। पानी खनिन्छ।

दिदी कि बाध्यता? कसले मान्यो अर्डर?

म कुस्मा छिर्ने बेला देखेको ‘प्रहरी मेरो साथी’ बोर्ड सम्झिन्छु।

बेनी पुग्छौं। नेपालका धेरै सहरहरूमा झैं पिच सकिएको कुरा बसपार्क पुग्दा थाहा हुन्छ।

जोमसोम नपुगी मर्मत गर्ने ठाउँ भेटिन्न अब। ७४ किलोमिटर कच्ची बाटो बाँकी छ। बाइक बनाउने ठाउँ खोज्छौं।

मेकानिक दाइ हाम्रो बाइकलाई एक-एक गर्दै चलाइहेर्छन्।

‘केही गडबड त छैन नि?’ हाम्रो बोली नर्भस हुनुको कारण छ।

उनले राम्रो भने यात्रा राम्रो, नराम्रो भने भन्न सकिन्न। एउटा मान्छेको बोलीको धेरै महत्त्व हुन्छ जीवनमा।

अरूको बाइक ठिकै छन्। मेरो पालोमा भन्छन् ‘यसको पिकअप साह्रै कम छ। क्लच प्लेटमा समस्या हुन सक्छ।’

अनुहार चिन्तामा खस्छ। र बाँकी अनुहारमा सर्छ।

‘फेर्नुपर्ला त?’ बोली मलिन भइसकेको छ।

‘फेरे राम्रो।’ बेवास्ता फुत्त झर्छ।

‘जे पर्ला जाँउ यसै’ स्वर मिल्छन्।

गुड्नलाई पहिलो सर्त ‘ब्रेक’ ठीक हुनुपर्ने। यात्रामा गति पनि चाहिन्छ ब्रेक पनि। चेन समेत कसेर हामी तेल भर्न लम्किन्छौं।

पोखरातिर देखिएको सुर्योदय – सूर्य देखेर हामी क्षणमै चरा भइउड्छौँ।

कच्ची बाटो पहिलोपल्ट हिँड्दै छु। तिखा ढुंगा पर्खिरहेछन्। खोल्साहरू कालिगण्डकीमा मिसिन हतारिन्छन्। हामी अगाडि बढ्न। धुलो उड्न। गाडीहरू पुग्न। सबै हतारिन्छौं। कालिगण्डकी पनि हतारमै होला।

हामी हतारसँग यात्रा गरिरहेछौं वा हतार हामीसँग?

हतार उता पुग्न कि यता छोड्न?

बेलाबेला भिरबाट तल हेर्छु।

‘आफ्नो बाटो हेरेर हिँड’ नदीले हप्काए झैं लाग्छ। नदी हिँडेको बाटो कति अप्ठ्यारो होला?

डोजर माटो खन्दै छ बाटोमा। रोकिन्छौं।

‘कति बेला खुल्छ?’ सबैको अनुहारमा यही प्रश्न छ। अलिअलि ठाउँ खाली हुनासाथ अगाडि सरिहाल्छन्।

पर्खिएको बेला थोरै बाटो पनि धेरै लाग्छ। काठमाडौंको जाममा बामे सरेको सम्झिन्छु। हाँस उठ्छ। हतार बहुत रमाइलो चिज हो। जुन बेला पनि लाग्छ। सबैलाई लाग्छ।

बाटो खुल्छ। चक्का झन् हतारिन्छन्। धुलो बादल भएर उड्छ। साना ढुङ्गा लुकेर छिर्के लगाउँछन्।

अब बाटोमा ‘दुर्घटना सम्भावित क्षेत्र’ लेखिएको बोर्ड छैन। हरेक मिनेट सम्भावित क्षेत्र भइरहेछ।

ढुंगामा बेस्सरी थचारिन्छु। झनक्क हुन्छ। ‘सुन्दर ठाउँ र ठूला भगवान टाढा किन बसेका?’ जवाफ पाउँदिन। एउटा हेलिकप्टर आकाशमा उड्दैछ। उसका लागि ती ठाउँ टाढा हैनन्।

तर उड्नेले गुड्नेलाई बुझ्दैनन्। गुड्नेले हिँड्नेलाई। हिँड्नेले नहिँड्नेलाई।

एक अर्कालाई नबुझेपछि दूरी आउँछ। दूरीलाई साधनले फरक पार्छ। मान्छे टाढा हुँदैछन्।

हामी चढ्दै छौं। शैक्षिक भ्रमण सकेर बसहरू फर्किँदै छन्।

माछापुच्छ्रे – ऊ त्यहाँ उभिएर यहाँ हामीलाई कुत्कुत्याउँछ।

‘बाटो राम्रो भए ती बसहरू कसरी फर्किन्थे? अप्ठ्यारो बाटोको पीडा बिर्सिन झ्यालबाहिर हेरिरहेका विद्यार्थीको अनुहार कस्तो हाँस्थ्यो?’

‘पुगेर घरमा के सुनाउलान्? धुलो कि डर? यात्रा कि बाटो?’

‘घर पुग्लान्?’

बाटो नेपाली पर्यटनको दु:खत् नियति हो। यात्रामा बाटो अप्ठ्यारो नहुनु। ऐठन परेको सपना के सपना? ढुंगा चबिएको गाँस के गाँस?

दानाको साँघुरो गल्छीबाट कालिगण्डकी छिर्छ। ऊ चाँडोचाँडो ओरालो झर्छ। ऊ सँगै हिमाल दक्षिण हिँड्छन्। हामी हिमाललाई छोड्न थाल्छौं।

कालिगण्डकी दक्षिण बगेर हामीलाई हिमाल पारि पनि पुर्‍याउँछ।

ती हातहरू सम्झिन्छु जो आफू तल रहेर मलाई माथि पुर्‍याए। उनीहरूको उमेर कालीगण्डकी झैं बग्दो छ।

किनारमा हिँड्दा हिँड्दा डर लाग्न छोडेको छ। घरिघरि नदी हेर्छु। ‘मलाई हैन बाटोलाई हेर’ नै भने झैं लाग्छ। तर सम्झाएर।

गाली गर्ने र सम्झाउने पनि बेला हुनेरहेछ। सानो हुन्जेल गाली गरिरहने बुबा मैले एसएलसी पास गरेपछि साथीजस्तो हुनुको कारण यही होला।

आउँछ रुप्से झरना। पहाडको ल्याण्डस्केप पेन्टिङमा पछि थपिएको सेतो रङ बगे झैं। प्रकृतिले पर क्षितिजबाट हेर्दा केही अपुग देखेर थपे झैं।

बाइक रोकेर उँभो हेर्छु। झरनाको शिर देखिन्छ पाइताला देखिँदैन। आफू खसेको ठाउँले छेल्छ।

हाम्रो शिरलाई के-केले छेल्दो हो?

उकालो चढेर खास झरनाको नजिक पुग्छौं। परबाट कानमा बजेको संगीत नजिक पुग्दा मुटुमा थर्किन्छ। झरनालाई झरना नजिक पुगेर झरेको हेर्छौं। अनि बगेको।

आफ्नो कवितांश सम्झिन्छु ‘बग्नुअघि झर्नुको पनि कारण छ प्रकृतिसँग।’

झरनालाई पछाडि पारेर फोटो खिच्दै गर्दा हावाले बत्ताएर ल्याएको पानीको थोपा शरीरमा छुन्छ र त्यो पललाई अमर बनाएर सुक्छ।

 तातोपानीबाट अन्तिमपल्ट हिमाल उत्तर देखिन्छ

ओर्लिन्छौं। फेरि यात्रा सुरु।

त्यसरी नै बाँकी दिन हिडिँरहेपछि, दौडिइरहेपछि एउटा बोर्ड ‘वेलकम टु मुस्ताङ, दि ल्यान्ड अफ अनएक्प्लोर्ड प्यारेडाइज,’ लेखेर उभिन्छ।

बाटोमा यसअघि भेटेका सबै बोर्डहरू भन्दा सुन्दर। बाटोमा भोगेका सबै दु:ख बिर्साउन उभिएको। छ भन्ने थाहा नभए पनि त्यसैलाई देख्न गएको जस्तो।

आँखाबाट आनन्द मनमा छिर्छ। यात्रा गरिरहेको महशुस हुन्छ।

आँखा उपचार रहेछन्। सानोमा आमालाई देखेपछि धेरै त्यसै निको भएका हैन रहेछन् चोटहरू।

बिस्तारै कालीगण्डकी फैलिन थाल्छ। वरपरका पहाड पछाडि सर्न थाल्छन्। टाउकोमा सेताम्मे फेटा बाँधेका छन्।

तल खोंचमा बगेको नदी नै हो र यो? बग्दै आएको नदीको मुहानतिर जान रमाइलो हुने रहेछ। नदीको धेरै रूप र संघर्ष चिनिने रहेछ। आत्मीयता महशुस हुने रहेछ।

विगत थाहा भएको साथी बढी नजिक हुन्छ है?

ऊ फैलिएर बगिदिँदा बाटो सजिलो भइसक्यो। बस्ती दोहोरिन थालिसके। फलेका चिजहरू देखिइसके।

नदी बगिदिए धेरै थोक हुन्छ।

जोमसोम पुग्छौं। देवराज दाइलाई भेट्छौं। भोलिदेखि ५ जना हुँदैछौं।

मुस्ताङमा जीवनकै पहिलो रात।

यही बहाना मुस्ताङसँग नजिक हुनुछ।

क्रमशः . . .

रुप्से झरना – जहाँ धेरै थोपा अमर भए।
रुप्से झरनाबाट देखिएको ल्याण्डस्केप पेन्टिङ
पहिलोपल्ट दक्षिण देखेको हिमाल
कोसेली बेच्ने टुकुचे फोटोमा पनि कोसेली नै भएको छ।
टाउकोमा हिमाल गह्रौं नहुने रहेछ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *