हिटलरलाई नङ्ग्याउने फोटोग्राफरको कथा भन्ने सिनेमा

यो फिल्मको प्रमुख पात्रले एउटा दृश्यमा बालकसँग झुट बोल्छ। 

उ फोटोग्राफर हो। उ आफूले फोटो खिच्न लागेको त्यो बालकको छेउमा जान्छ। उसको कमिजमा S’ लेखिएको निलो स्टिकर सियोले उनिदिँदै भन्छ ‘तिम्रो बुवालाई यहाँभन्दा राम्रो ठाउँमा लगेका छन्। त्यहाँ नर्सहरूले ख्याल गर्छन्। उहाँलाई केही हुँदैन।’ 

आफूले झुट बोलेको उसलाई थाहा छ। तर पनि उसले बालकलाई क्याम्पमा एक्लै रहँदा बाँच्न सजिलो होस् भनेर झुट बोल्छ। 

कहिलेकाहीँ एउटा झुटले पनि कसैलाई बाच्ने हिम्मत दिन सक्छ। अरूलाई सजिलो होस् भनेर झुट बोल्नेहरू कति होलान्? 

तर बालकलाई झुट बोलेर बाँच्ने हिम्मत दिएको फोटोग्राफर आफूलाई पनि कतिन्जेल बाँच्न पाउँछु भन्ने थाहा छैन। बालकको बुबालाई लगेको जस्तै उसलाई पनि कति बेला मार्नेगरि लैजान्छन् भन्ने थाहा छैन। 

फिल्मको प्रमुख पात्र उ कुनै काल्पनिक पात्र हैन। उसको नाम फ्रान्सिस्को बोइस् हो जसलाई सन् १९४० मा जर्मन सेनाले पक्राउ गरेर माउथाउजन कन्सन्ट्रेसन क्याम्पमा राखेका थिए। त्यहाँ उ जस्तै ७००० अरू स्पेनिसहरू पनि ल्याइएका थिए। स्पेनिसहरू सबैलाई ‘S’ लेखिएको निलो स्टिकर दिइएको थियो। उसले झुट बोलेको बालक पनि त्यसमध्ये एक थियो।  

क्याम्पमा सबैले एउटै लुगा लगाएका छन्। सबैको कपाल खौरिएको छ। लुगा एउटै भए पनि देब्रे छाती पट्टी देश अनुसारको स्टिकर र नम्बर तोकिएको छ। निलो स्टिकर हुने मान्छे स्पेनका। फोटोग्राफर आफैँ पनि स्पेनको गृहयुद्धबाट भागेर फ्रान्समा बसेको थियो। उ फ्रान्समै पक्राउ परेको थियो।

फोटोग्राफर र त्यो बालक दुवैको स्टिकर एउटै छ। उनीहरूको कुनै देश छैन।

देश नै नभएको देशको एउटा मान्छेले देश नै नभएको देशको अर्को बालकसँग उसलाई सजिलो होस् भनेर उसको देश नै नभएको बाबुको बारेमा झुट बोल्छ।

‘दि फोटोग्राफर अफ माउथाउजन’ फिल्ममा माउथाउजन गुसेन कन्सन्ट्रेसन क्याम्पभित्र राखिएको फोटोग्राफरले बालकसँग झुट बोले पनि संसारसँग झुट बोल्दैन। उ त्यहाँ भएका क्रूर गतिविधिहरू खिचिएका फोटोका ‘नेगेटिभ’ आफ्ना साथीहरूको सहयोगमा लुकाउन चाहन्छ र सारा संसारलाई देखाउन चाहन्छ। 

++++++

फोटोग्राफरले बोल्नुभन्दा पहिला बालक आफूले लगाएको ठुलो भ्याङ्ले लुगामा भएको एउटा असामान्य दुलोमा औँला छिराइरहेको हुन्छ। त्यो लुगा उसको साइज भन्दा ठुलो छ। त्यो उसको लागि सिलाइएको लुगा हैन। त्यो बालकको लागि सिलाइएको लुगा हैन। त्यो कसैको लागि सिलाइएको लुगा हैन। 

त्यो युद्धले सिलाउन लगाएको लुगा हो। घृणाले सिलाउन लगाएको लुगा हो। 

युद्ध र घृणाले नाप नलिईकन सिलाइएका लुगा लगाउन लगाउँछ। साइज भन्दा धेरै ठुलो कुरा लगाउन बाध्य पार्छ। सहनु पर्ने भन्दा धेरै ठुलो कष्ट सहन बाध्य पार्छ। तर यो कुरा न युद्ध थाल्नेलाई मतलब छ। न घृणा पाल्नेलाई। 

थाहा हुन्थ्यो भने त पहिलो र दोस्रो विश्वयुद्ध हुँदैनथ्याे । अफगानिस्तानमा त्यत्तिका धेरै बम खस्दैनथे । रुवाण्डामा नरसंहार हुँदैनथ्याे । सिरिया ध्वस्त भएर लाखौँ मानिसहरू युरोपतिर भाग्नुपर्ने थिएन। रोङ्गियाहरू आफ्नो ठाउँ छोडेर हिँड्नुपर्ने थिएन। संसारभर शरणार्थी शिविर हुने थिएनन्। बनाउँछु भनेर कहिल्यै नसोचेको घर मान्छेले बनाउनु पर्ने थिएन। हिँड्छु भनेर कहिल्यै नसोचेको बाटो हिँड्नु पर्ने थिएन।

पड्किरहेको बमबाट बाच्न बालबालिकाहरू सडकमा नाङ्गै दौडिरहेको दृश्य फोटोमा कैद हुनुपर्दैनथ्याे । समुन्द्र किनारमा आफू र परिवार भाग्दै आएको छालतिर मुन्टो परेर बालुवातिर घोप्टिएको उठिहाल्छ कि जस्तो लाग्ने मृत बालकको फोटो भाइरल हुनुपर्दैन थियो। 

कति धेरै सम्झिन लायक कुराहरू बिर्सिएर सम्झिन मन नलाग्ने यादहरू मान्छेले बोक्नु पर्दैन थियो। 

यही फिल्मको बालकले जस्तै लाखौँ बालकहरूले आफ्नो बाबु आमालाई नाङ्गै पारेर मार्न लगेको देख्नुपर्ने थिएन। 

युद्ध र घृणाले बालकलाई बालक जस्तो हुन दिँदैन। मान्छेलाई मान्छे जस्तो हुन दिँदैन। 

बालकले औँला हालेर खेलाइरहेको भ्याङ्ले लुगाको त्यो दुलो कसैलाई अगाडीबाट हानिएको गोलीले बनाएको थियो। गोली लुगा छेडेर मान्छेको शरीरमा कतै पस्यो र उसको शरीर लिएर गयो। लुगा निर्जीव थियो, उसले लुगालाई मार्नै परेन। लुगा जसले लगाएको थियो उसलाई जिउँदै मार्न त पाएन होला। 

फिल्मको दृश्यमा एक जना पात्रले ‘म त मरिसकेको छु।’ भनेजस्तै उ पनि त मरिसकेको हुँदो हो। 

युद्धले केही समय जिउँदा मान्छे मार्छ। केही समय बितेपछि भने जिउँदा लास मार्न थाल्छ। 

हिटलरको क्याम्पमा लाखौँ मानिसहरू जिउँदो लास थिए। उनीहरूलाई हेय गरेर भन्नुपर्दा ‘मुसलमान’ भनिन्थ्यो। जसको अर्थ ‘न जिउँदो न मृत’ हुन्थ्यो। उनीहरू कुपोषण, भोकमरी र रोगव्याधीले थलिएका हुन्थे। उनीहरू हरेक पल मरिरहेका हुन्थे। र पनि तीनैलाई मार्ने भनेर २५ वटा फरक फरक तरिका अपनाइन्थ्यो। 

अनि त्यसको फोटो खिचिन्थ्यो। ठुला ठुला अफिसर त्यहाँ भ्रमण गर्थे। तर ती फोटोहरू कुनै पनि बाहिर पठाइँदैन थियो। बाहिर देखाउनेबेलाका फोटा त कैदीहरू राम्रो गरी बसिरहेको, चेस खेलिरहेको खिच्न लगाइन्थ्यो।

बालकसँग बोलेको झुटले त फोटोग्राफरलाई आनन्द दिएको थियो। तर उ आफूलाई लगाइएको फोटो खिच्ने कामसँग जोडिएर आएका मान्छेसँग झुट बोल्ने वाला थिएन। ती फोटोको बारेमा झुट बोल्ने वाला थिएन। 

उसको लागि जलाउन ठिक्क पारिएका क्रूर दृश्य भएका फोटोका नेगेटिभहरू पनि ‘जिउँदो मान्छे’ नै थिए। 

+++++

उसले हरेक दिन त्यो बालक जस्तै डराउँदै आएका मान्छेहरूको रजिष्ट्रेसन गर्नको लागि फोटो खिच्नुपर्छ। तीनका आँखामा हेर्नुपर्छ । उनीहरूको नाम र क्रम नम्बर लेखिएको बोर्ड बोक्न लगाएर हाँस्न भन्नुपर्छ। अनि त्यसरी खिचेको फोटो धुलाउनुपर्छ।

उसको फोटो अहिले उसलाई फोटो खिच्न लगाउने जर्मन सैनिक अफिसरले त्यसरी नै खिचेको थियो।  

हिटलरका सैनिक आफूले गरेका हरेक कामको फोटो खिच्न चाहन्छन्। कैदीलाई उसको छोराछोरीकै सामुन्ने नाङ्गै पारेर गाडीमा हाल्न लाग्दाको, मारेर कसैलाई फाल्न लाग्दाको। श्रम शिविरमा ढुङ्गा बोक्दा बोक्दै मान्छे मर्दाको। त्यही कुरा अवलोकन गर्न आएका उच्च पदका अफिसरलाई ती सबै कुरा देखाउँदाको। 

ती फोटोहरू पनि उसले धुलाउनुपर्छ। अझ पीडाको कुरा त ती सबै फोटोलाई उसले पहिलोपल्ट हेर्नुपर्छ। केमिकलबाट झिकेर डोरीमा क्लिप लगाएर झुन्ड्याउनुपर्छ।

त्यसो गर्दा उसलाई मरिसकेका मान्छेलाई फेरी झुन्ड्याएजस्तो लाग्यो होला। नेगेटिभबाट फोटो बनेका मान्छेका चित्कार सुन्यो होला। एकमाथि अर्को खप्टिएका मकैका ढोड जसरी सुकेका मान्छेका लाशहरू देखेर रिँगटा लाग्यो होला। 

अनि त उ बहुलायो। अनि त उसले ती फोटोका नेगेटिभलाई जसरी पनि बाहिर लैजाने उपाय सोच्न थाल्यो। अनि त उसलाई आफ्नो ज्यान भन्दा माया ती फोटोमा भएका मान्छेको लाग्न थाल्यो। उ तीनको लागि न्याय खोज्न थाल्यो। 

उ त्यसरी ल्याबमा भेटेका नेगेटिभहरू लुकाउन थाल्छ। हिटलरका मान्छे ती नेगेटिभलाई जलाउन थाल्छन्। उ बचाउन थाल्छ। उनीहरू आफ्नो कर्तुत लुकाउन जलाउन चाहन्छन्। उ तिनीहरूको कर्तुत देखाउन बचाउन चाहन्छ। 

कर्तुत लुकाउन चाहने आफूलाई जोगाउन चाहन्छन्। उ कर्तुत देखाएर मरिगएका मान्छेको कथा जोगाउन चाहन्छ। 

त्यसैले त उसले आफूसँगै फोटो धुलाइरहेको र आफूलाई फोटोग्राफर बनाउने हिटलरको एक अफिसरलाई भन्छ ‘मलाई फोटोमा वास्तविकता देखाउन मन पर्छ।’ 

+++++

माउथाउजन गेटभित्र छिरेपछि मर्नको लागि गल्ती गर्नै पर्दैन। त्यहाँ भित्र कैदीहरू पनि कैदीहरूकै शत्रु छन्। सबैलाई सबैबाट खतरा छ। उ त्यसबाट जोगिएर सबैभन्दा खतरामध्येको नेगेटिभ बाहिर निकाल्न चाहन्छ। 

हिटलरका अफिसर कैदीलाई एक आपसमा मिल्न दिँदैनन्। उनीहरूलाई एक अर्कासँग लडाउँछन्। एक अर्काको सहयोगी बन्ने अवसर दिँदैनन्। तर स्पेनका कैदीहरू आपसमा नजिक छन्। उनीहरू लुकेर समाचार सुन्छन्। जर्मनीले लडाइँ हार्दै गरेको खबर सुनेर रमाउँछन्। 

‘जित्न लाग्दा त यस्तो अवस्था थियो, अब हार्न लाग्दा के के गर्लान्?’ उनीहरू मध्येकै कसैले यस्तो भनेपछि फेरी मलीन हुन्छन्। 

त्यो समय असामान्य छ। ज्यानलाई हरेक पाइलामा खतरा छ। तर त्यसका बाबजुद पनि उनीहरू त्यो जोखिम लिन तयार हुन्छन्। सामान्य मान्छेले असामान्य अवस्थामा लिएका यस्तै जोखिमले नै खराब चिजको इतिहासभित्र पनि चाँदीको घेरा बन्छ। कठोर इतिहासभित्र पनि मानवताको सानो टुसो निस्किन्छ। 

ती व्यक्तिले इतिहासलाई सास फेर्ने ठाउँ दिन्छन्। 

फोटोग्राफरले त्यो बालक र फोटोका नेगेटिभहरूलाई कसै गरी त्यहाँबाट निकाल्न चाहनु आफैँमा बिम्बात्मक छ। उ आफू भन्दा नयाँ पुस्तालाई त्यो सबै कुराबाट मुक्त गर्न चाहन्छ। उ बालकसँग फोटोका रिलहरू पठाउन चाहन्छ। उ नयाँ पुस्तालाई अगिल्लो पुस्ताले गरेका नराम्रा कामहरू देखाएर त्यसबाट पाठ सिकाउन चाहन्छ। 

र सँगै युद्ध अपराध गर्नेहरूलाई सजाय दिन चाहन्छ। 

+++++

फिल्मले कालो विगतको बारेमा कुरा गरेकाले नै होला फिल्मभरि एकपल्ट पनि खुलेको आकाश देखिँदैन। माथि बाक्लो कुइरो। तल बाक्लो हिउँ। सेताम्मे हिउँमा अत्याचारको गोलीले बगाएका रगतका टाटा। फिल्मको ‘सेटिङ’ ले नै त्यस बेलाको उकुसमुकुस अवस्थालाई प्रतिबिम्बित गर्छ। हरेक पात्रहरू कुनै न कुनै रूपमा गुम्सिएका छन् भन्ने सजिलै बुझाउँछ। 

एउटा दृश्यमा कैदीको लास जलाएको र फोटो तथा नेगेटिभहरू जलाएको धुवाँ चिम्नीबाट कालो बादलमा गएर मिसिन्छ। 

फिल्मभर कैदीहरूमध्ये धेरै कमले मात्र एक अर्कालाई आँखा जुधाएर हेर्छन्। आफू नै आफूबाट झरिसकेपछि र ज्युँदो र मरेको फरक नै नछुट्टिएपछि मान्छेले आँखा जुधाउन सक्दैन। फिल्मको ओपनिङ सिनमा केही आएजस्तो ब्लर आकृति सिधा अगाडी आउँछन् र मान्छे बन्छन्। तीनका पाइला गह्रौँ छन्। फोटोग्राफरले बचाउन चाहेको बालक, उसको एक खुट्टा गुमाएको बाबु र अरू धेरै कैदीहरू क्याम्पभित्र छिर्न लाग्दैछन्। त्यस बेला छोराले बाबुको अनुहारमा हेर्छ तर बाबु छोराको अनुहारमा हेर्दैन। 

धेरै डायलगहरूमा राजनीतिक व्यङ्ग्य मिसिएका छन्। फोटोग्राफरसँग प्रभावित भएको अफिसरले उसलाई वेश्याकहाँ पठाउँछ। उसलाई वेश्याको कोठामा लैजाने महिलाले कोठामा पस्नुभन्दा पहिला नुहाउन लगाउँदै भन्छिन् ‘यहाँ फोहोरी मान्छे चल्दैन।’ 

बर्थडे पार्टीमा सहभागी भएका हिटलरका पक्षका मान्छेहरूको अनुहार उज्यालो छ। तर काम गर्न खटाइएका फोटोग्राफर जस्तै अन्य वेटरहरू सबैको अनुहारमा पटक्कै उज्यालो छैन। उज्यालो अनुहार र अँध्यारो अनुहार कन्सन्ट्रेसन क्याम्पभित्रको दैनिकी नै हो। 

+++++

फिल्मको अन्त्यमा रूसी कम्युनिष्टहरू आएपछि माउथाउजनका कैदीहरू स्वतन्त्र हुन्छन्। झन्डै ग्याँस भ्यानमा परेर मृत्युको मुखमा पुगिसकेको फोटोग्राफर क्याम्पमा फर्किँदा उसका साथीहरू बन्दुक बोकेर उसलाई पर्खिरहेका हुन्छन्। उनीहरू उसलाई पनि बन्दुक बोकाउँछन्। उ आफूलाई पहिला क्यामेरा थमाउने अफिसरलाई जिउँदै भेट्छ र बन्दुकको नालले उसको घाँटीबाट क्यामेरा निकाल्छ र बन्दुक फ्याँकेर फोटो खिच्न थाल्छ। उ क्याम्पबाट निस्किन पाउँदा खुसी भएका मान्छेको अनुहार खिच्छ। कैदीहरूले लिएका बदलाका फोटो खिच्छ। वरपर जे जे छन्, जे जे देखिन्छन् सबै खिच्छ। 

उसले बालकसँग झुट बोले पनि फोटोहरूसँग झुट बोलेको थिएन। पहिला साथीहरूसँग नेगेटिभ लुकाउने कुरामा विवाद हुँदा उसलाई एउटा साथीले ‘वि सेभ लाइभ्स नट फोटोग्राफ्स’ भनेको थियो।

किनकि उसको लागि जिन्दगी बचाउनु र फोटो बचाउनु एउटै कुरा थियो। जिउँदो मान्छेको सास जोगाउनु र मरेको मान्छेको कथा जोगाउनु एउटै कुरा थियो। 

उसलाई भोलि कस्तो नहोस् भनेर संसारलाई भन्नु थियो। 

त्यस क्रममा उसले २००० भन्दा धेरै नेगेटिभहरू बाहिर निकाल्छ। विश्वयुद्ध सकिएपछि भएको अमेरिकन मिलिटरी ट्रायलमा उसले खिचेको फोटोकै आधारमा ६० भन्दा धेरै जर्मन अफिसरहरू युद्ध अपराधी करार हुन्छन्। उ फोटोको नेगेटिभमा भएका मान्छेहरूलाई आफ्नो तर्फबाट सक्ने न्याय गर्न सफल हुन्छ। 

उ ती फोटोहरूलाई बचाएर उनीहरूको कथा बचाउन सफल हुन्छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *