‘मरिसकेको मान्छे’ मा बौरिएका कुरा  

पटक-पटक दोहोरिएपछि मान्छे नै मरेको कुनै घटना पनि सामान्य हुँदै जान्छन् । मर्नेहरू केवल संख्यामा सीमित हुन थाल्छन् ।

युद्धमा मर्ने मानिसहरू संख्यामा मात्र सीमित हुँदै गए जस्तै । कोभिडका कारण मृत्यु हुनेहरू संख्यामा सीमित भए जस्तै । सडक दुर्घटनामा परेर मर्नेहरू संख्यामा सीमित हुँदै गए जस्तै ।

मर्ने बाहेक बाँच्नेहरू पनि यसबाट अछुतो रहँदैनन् । बलात्कृतहरू संख्यामा सीमित हुँदै गए जस्तै । घाइतेहरू संख्यामा सीमित हुँदै गए जस्तै । विदेश जान लामबद्ध व्यक्तिहरू संख्यामा सीमित हुँदै गए जस्तै ।

उनीहरू क्रमशः बढ्दो संख्यामा प्रतिस्थापन हुन थाल्छन् । संख्याको शरीर बन्दै जान्छन् । संख्या बोल्छन् तर तीनलाई नसुन्नेहरू बढ्दै जान थाल्छन् ।

संख्यामा सीमित गरेपछि गन्न त सजिलो हुन्छ तर त्यो गणना गर्नेले ऊ एउटा व्यक्ति पनि हो भन्ने बिर्सिदिन्छ । उसको परिवार पनि छ भन्ने बिर्सिदिन्छ । ऊ समाजको मान्छे हो भन्ने बिर्सिदिन्छ । ऊ सास फेर्छ र उसको सासमा अरू निर्भर छन् भन्ने पनि बिर्सिदिन्छ ।

झट्ट हेर्दा संख्याको मुटु हुँदैन । संख्याले मान्छेलाई केवल संख्यामा सीमित गर्न थालेको देखिन्छ । एउटा मान्छेको मृत्यु कसैको लागि कतिसम्म हो भन्ने कुरा संख्याले भनिदिन छाडेको जस्तो देखिन्छ । संख्यालाई सुन्नुपर्ने स्थानमा बसेका मानिसहरू संख्याको यही कमजोरीलाई प्रयोग गर्छन् र मानिसहरूलाई सीमित गरिरहन्छन् ।

उनीहरू संख्याभित्र लुकेको एउटा मान्छेसँग गाँसिएको पारिवारिक र सामाजिक मूल्यलाई बिर्सिन थाल्छन् ।  त्यो मूल्यलाई सम्झाउन मान्छेबाट संख्यामा ‘जुम आउट’ हुँदै गरेको परिस्थितिलाई कुनै कलाको माध्यमले ‘जुम इन’ गर्दै नजिकबाट देखाइदिनुपर्छ ।  परबाट हेरेर सबै थोक सामान्य देखिरहेकाहरूलाई यी चिज सामान्य हैनन् भनेर बुझाइदिनुपर्छ ।
 
हेर्ने कथाको टिमले बनाएको ‘मरिसकेको मान्छे’ डकुमेन्ट्रीले यही काम गर्छ । वैदेशिक रोजगारीको कारण संयोगले जोडिएका दुई परिवारलाई नजिकैबाट नियाल्छ र त्यसबाट नेपालको वैदेशिक रोजगारी र यसले निम्त्याएका समस्याहरूलाई फुकाल्छ ।
 
यसले संख्यामा सीमित हुँदै गरेको वैदेशिक रोजगारीमा जीवन गुमाउने परिवारका मानिसहरूको घरलाई जुम गर्छ, अनुहारलाई जुम गर्छ, आँखालाई जुम गर्छ र सबैलाई भन्छ- ‘वैदेशिक रोजगारीमा गएर हरेक दिन मर्ने दुई जना मानिसहरू केवल संख्या मात्र हैनन् । तीनका परिवार छन्, तीनलाई माया गर्ने छन् । तीनमा अडिएर बाँचिरहेका सास छन् । तीनलाई सम्झिएर अडिइरहेका खुसीहरू छन् । ती केवल संख्या मात्र हैनन् । ती परिवार र समाज भएका मान्छे हुन् । तिनलाई नबिर्स ।’
 
********

यो डकुमेन्ट्री पर्खिने मान्छेको कथा हो ।

मोरङकी सन्तोषी तामाङ आफ्नो श्रीमान पर्खिने । पश्चिम नेपालकी वृद्ध आमा सुर्विता भण्डारी आफ्नो छोरो पर्खिने । श्रीमान र छोरोसँग जोडिएर आएका सपना पर्खिने । सुखद् दिन पर्खिने । मिलन पर्खिने ।

उनीहरूका श्रीमान् र छोरो दुवै जना साउदी अरबमा थिए । सन्तोषीका श्रीमान् तलब बुझेर पैसा पठाउन ट्याक्सीमा जाँदै थिए । सुर्विताका छोरा त्यही ट्याक्सी चलाउँदै थिए । उनीहरू दुर्घटनामा परे ।
 
कस्तो विडम्बना, विदेशमा भेटिएका नेपालका दुई फरक भूगोलका मान्छे दुर्घटनाको कारण मिसिए । आफू मात्र मिसिएनन् परिवारलाई पनि मिसाए ।
 
त्यसपछि, सन्तोषीलाई आएको फोनले दुर्घटनामा उनका बुढा सुभाष तामाङ बितेको कुरा सुनायो । सुर्वितालाई ट्याक्सी दुर्घटनामा उनका छोरा तेजेन्द्र भण्डारी घाइते भए भन्ने खबर आयो ।
 
सन्तोषी फोन उठाउन सक्ने मान्छे । सुर्विता फोन उठाउन नसक्ने मान्छे । उनीहरू दुवै जनाको मनमा भुइँचालो गयो । भुइँचालोले के गर्न जान्ने र के गर्न नजान्ने मान्छे भन्दैन ।
 
सन्तोषीले परिस्थिति स्वीकार्नु थियो स्वीकारिन् । बुढाको लास घर ल्याइन् र अन्तिम संस्कार गरिन् । सुर्विता छोरा ठीक हुने खबर कुरिरहिन् ।
 
अलिक पछि, सन्तोषीलाई आएको फोनले दुर्घटनामा बितेका भनेका मान्छे उनका बुढा हैनन् भनिदियो । सुर्वितालाई खबर आयो घाइते भएका भनेका मान्छे उनका छोरा हैनन् । उनका छोरा त बितिसकेका रहेछन् । उनको लास त नेपालमा पुगिवरी कसैले जलाइसकेको रहेछ ।
 
पहिला आएका दुई वटा खबर उल्टिए । मरे भनेका सन्तोषीका श्रीमान् फर्किए । बाँचे भनेका सुर्विताका छोरा मरे ।

एउटाको खुसी फर्कियो। अर्काको खुसी हरायो। यो डकुमेन्ट्रीले हराएर फर्किएको खुसी र भेटिए जस्तो लागेर हराएको खुसी झेलेका दुई जना फरक भूगोलका फरक महिलाको कथा भन्छ । र, ती कथासँगै विदेशमा गएको श्रीमान् वा छोरो मरेको खबरले उनीहरूलाई कसरी हल्लायो देखाइदिन्छ।
 
महिलाको कथा किनकि वैदेशिक रोजगारीले तिराएको महँगो मूल्य जति पुरुषले विदेशमा तिरिरहेका छन्, त्यति नै मूल्य महिलाले नेपालमा पनि तिरिरहेका छन्। यी दुई महिलाको कथामा वैदेशिक रोजगारीले तिराएको त्यो सामाजिक मूल्य कति महँगो हो देखाइदिन्छ।

तर यदि यो कथा यति नजिकबाट नभनिएको हुन्थ्यो भने वा दुई वटालाई सँगै जोडेर नभनेको हुन्थ्यो भने यो कथा अरू कुनै कथा जस्तै सामान्य हुन सक्थ्यो । विदेशमा मरेका सुर्विताको छोराको खबर कुनै पत्रिकाले छाप्नको लागि नयाँ खबर हैन । यो एउटा संख्या मात्र हो ।

तर, डकुमेन्ट्रीले यी दुई कथालाई ‘जुम इन’ गर्‍यो। दुई वटै कथालाई एक आपसमा नछुट्याइ बतायो । उनीहरूको कथा सुन्यो । उनीहरूलाई आफ्नो श्रीमान् वा छोरा मरेको सुन्दा कस्तो लाग्छ सोध्यो ।
 
अनि अन्तिममा सुर्वितालाई उनको छोराको दाहसंस्कार गरेको ठाउँमा पुर्‍याइदियो। उनीहरूलाई भेटाइदियो ।

एउटा मान्छे नै समाज हो । एउटा समाज नै मान्छे हो । त्यसपछि वैदेशिक रोजगारीसँग जोडिएका समाजका अरू धेरै पत्रहरू खुल्दै गए । यससँग गाँसिएका अरू धेरै कथाहरू खुल्दै गए ।
 
पहाडका कथा खुल्दै गए । तराइका कथा खुल्दै गए । पूर्वको कथा खुल्दै गए । पश्चिमको कथा खुल्दै गए । नेपालको कथा खुल्दै गए । पर्खिनेहरूका साझा आँखा र ती आँखामा भरिएका आँसुका डल्लाहरू खुल्दै गए ।
 
एउटा फिल्म, डकुमेन्ट्री, किताब, म्युजिक भिडियो, गीत, कविताले गर्ने काम यही त हो । यिनले संख्यालाई संख्या भनेर पढ्दैनन्, मान्छे भनेर पढ्छन् । यिनले मृत्युलाई मृत्यु भनेर बुझ्दैनन् । 

अरूका लागि मरेका भनिएकाहरू पनि कसैको लागि कहिल्यै मर्दैनन् ।
 
यो डकुमेन्ट्रीले वैदेशिक रोजगारीले निम्त्याएको सङ्कटमा परेका दुई परिवारका महिलालाई समानुभूति राखेर प्रश्नहरू गरे । ‘यस कथाका घटना तथा पात्रहरू काल्पनिक हुन् । कुनै काल्पनिक कथा, उपन्यास, तथा, चलचित्रसँग मेल खान गएमा संयोग मात्र हुनेछ।’ भन्दै सुनेको जवाफ इमानदार भएर सुनाए ।
 
यसरी उनीहरूले एउटा मान्छे मरेको कुरालाई संख्यामा सीमित हुन दिएनन् । बरु मरिसकेको मान्छेले के के भन्छ सुनाइदिए ।
 
*******
 
डकुमेन्ट्रीमा नेपालका पूर्व र पश्चिम जोडिएका छन् । अर्थात् वैदेशिक रोजगारसँग पूर्व र पश्चिम नेपाल जोडिएको छ । पूर्वकी श्रीमती र पश्चिमकी आमा । दुवैको सम्बन्ध फरक छ । दुवैको उमेर फरक छ । दुवैको घर फरक छ ।
 
तर साझा छन् केही कुरा जुन वैदेशिक रोजगारीसँग जोडिएका छन् । जुन डकुमेन्ट्रीभर श्रीमतीले सुनाएको कथा र आमाले सुनाएको कथामा पटक पटक दोहोरिइरहन्छन् । जस्तो कि ‘ऋण’।
 
धेरै नेपालीहरूलाई वैदेशिक रोजगारीमा धकेल्ने कारण बनेको ऋण । परिवारका हरेक सदस्यले बोकेको गह्रौं ऋण । विदेशमा हुनेहरू त्यही ऋण कसरी तिर्ने होला भनेर बोकेको ऋण । नेपालमा हुने हरू कहिले ऋण तिरिएला भनेर बोकेको ऋण । बिसाउने सजिलो ठाउँ नभएको ऋण । मान्छे नै मरेपछि पनि नबिसिने ऋण ।
 
त्यसैले त श्रीमती कथा भन्दै गर्दा भावुक भएर बुढालाई मरेपछि ऋण कट्न पाएन भन्ने नहोस् भनेर आफूले राम्रोसँग काजक्रिया गरेको कुरा सुनाउँछिन् ।
 
त्यसैले त आमा छोरा मरेपछि के को चिन्ता छ भन्दै प्रश्न सोधिँदा ‘साहुको चिन्ता छ’ भन्छिन् ।
 
डकुमेन्ट्रीमा घरको कथा पनि जोडिन्छ ।
 
वैदेशिक रोजगारीसँग जोडिएको अर्को चिज ‘घर’। घर अर्थात् सपना । नयाँ घर बनाउने सपना । यो डकुमेन्ट्रीको थप दुई वटा पात्र ‘घर’। मोरङमा भएको श्रीमतीको घर । ढोरपाटनमा भएको आमाको घर ।
 
घर भएको ठाउँले पनि धेरै कुरा बोल्छन् । घर वरपर भएका चिजले पनि बोल्छन् । घरभित्र भएका चिजले पनि बोल्छन् ।
 
डकुमेन्ट्री सुरु हुँदा क्यामेराले परबाट घर खिच्छ । जब कथा बढ्दै जान्छ तब क्यामेरा पनि बिस्तारै घर नजिक नजिक जान थाल्छ । अनि जब दर्शकलाई कथाले समातिसक्छ, क्यामेरा घरभित्र छिर्छ ।
 
परबाट हेर्दा घर केवल एक घर हो । तर नजिक हुँदै गएपछि यो घर मात्र रहँदैन ।
 
एउटा दृश्यमा छोरा मरेको थाहा पाएकी आमाको कथा सुनिसकेपछि उनको घरभित्र छिरेको क्यामेराले उनको हिलोमा लगाउने घुँडासम्म आउने खाले बुट देखाउँछ । बुट अर्थात् सहारा । सहारा अर्थात् उनको छोरा । उनको लागि सहारा अब त्यही बुट मात्र छ ।
 
त्यस बेला उनको घरभित्रका हरेक सामान बोल्न थाल्छन् । झुन्ड्याइएका लुगाहरू उनको गरिबी बोल्छन् । चुल्हामा बलिरहेको आगो उनको मनभित्र बलिरहेको आगो बोल्छ । 
 
डकुमेन्ट्रीको सम्पादनका क्रममा पटक-पटक घरलाई खिचिएका फुटेज एक अर्कामा कट भइरहन्छन् ।
 
केराको पात हल्लिरहेको ठाउँबाट खिचिएको मोरङको घरको दृश्यबाट कट भएर अर्को दृश्य ढोरपाटनको आमाको घर पुग्छ । मोरङको घरको दृश्यमा अर्को घरको सुर पनि पर्छ । केराको घारी नजिकै छ । बाहिर ढड्याइएको गुन्द्री छ । अर्थात् उनको वरपर कम्तीमा अरू मान्छे छन् । 
 
सुरविताको घर एक्लै छ । खोला किनारमा एक्लै छ । उनको घरबाट निक्कै माथि छन् रुखहरू । उनको घर बाहिर केही पनि ढड्याइएको छैन । अर्थात् उनको घरको कोही साथी छैन। उनको पनि कोही साथी छैन ।
 
यसरी डकुमेन्ट्रीले यो कथा मान्छेको मात्र नभएर घरको पनि कथा हो भन्ने देखाउँछ । त्यो घर जुन वैदेशिक रोजगारीमा जाने हरेकको सपनामा बसेको छ तर वैदेशिक रोजगारीमा जाने मान्छेको संख्यासँग जोडिएको छैन ।
 
घर नदेखिनेसरि सबैसँग जोडिएको छ । 
 
श्रीमानको लास ल्याउने बेलाको कथा सुनाउँदै गर्दा श्रीमती पटक-पटक सँगै ‘यहाँ उसको रगत पसिना बगाएको घर छ’ भनिरहन्छिन् । श्रीमानको लास भनेर ल्याइएको कफिन घर अगाडि आउँदा तिम्रो घर आयो उठ भनेर चिच्याएको सुनाउँछिन् ।
 
बाँचेका छन् भन्ने थाहा भए पनि पहिलोपल्ट श्रीमानसँग फोनमा बोल्दा उनले हाम्रो घर कहाँ हो भनेर सोधेको सुनाउँछिन् ।
 
डकुमेन्ट्रीका दुई घर बाँकी दुई महिला जति नै शक्तिशाली छन् ।
 
*******
 
डकुमेन्ट्रीको सबैभन्दा ठूलो शक्ति नै यसले समानुभूति राखेर गरेका प्रश्नहरू हुन् । यसले ती प्रश्नको जवाफ सुनेर अत्यन्तै संवेदनशील भई दृश्यहरूमा बदलेको छ । त्यसैले पनि डकुमेन्ट्रीभर मान्छे र घर सँगै सामान पनि बोल्छन् । बाटो पनि बोल्छन् । बोलीबाहेकका धेरै दृश्य आफैँमा बोल्छन् ।
 
छोराको काजक्रिया भएको ठाउँमा लगिदिने भने पनि डकुमेन्ट्रीमा पहिलोपल्ट हाँसेकी आमा हिँड्नलाई जेब्रा झोला ठीक पार्छिन् । त्यो झोलालाई माथिबाट क्यामेराले खिच्छ । एउटा मान्छेको आर्थिक अवस्था उसको झोला हेरेर अनुमान लगाउन सकिन्छ । त्यो झोलाले उनको आर्थिक अवस्था भनिदिन्छ । 

उनी जेब्राको चेन लगाउँछिन् । अर्थात् उनी आफूलाई जसो तसो सिलाउँछिन् ।

त्यसपछिको सटमा उनी ढोकाबाट बाहिर निस्किँदा उनी भन्दा पहिला उनको झोला निस्किन्छ । अर्थात् छोराको अन्तिम संस्कार भएको ठाउँमा जानलाई गरिने यो यात्रा उनलाई उनी भन्दा पनि महत्त्वपूर्ण छ ।
 
उनी मोरङ आइपुग्छिन् । मरेको भनिएर जिउँदो भएर आएको सन्तोषीको श्रीमानलाई भेट्छिन् र दुवै हात जोडेर भक्कानिँदै नमस्कार गर्छिन् ।
 
उनी आफूभन्दा कम उमेरको मान्छेलाई नमस्कार गर्छिन् र भक्कानिन्छिन् ।  उनले सायद उनमा आफ्नो छोरो देखिन् । उनले सायद उनमा आफ्नो छोराको अनुभूति भेटिन् । उनले सायद उनमा मरिसकेको आफ्नो छोरो देखिन् ।
 
अरूमा आफ्नो देख्न थाल्नेहरू सबैको हुन्छन् । यसरी उनी सबैको भइन्। यसरी उनको कथा सबैको भयो । यसरी यो डकुमेन्ट्री सबैको भयो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *